त्रिपुरासुन्दरी–७ मा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम सफल बन्दै, २१ कृषकलाई भैंसी वितरण

शनिबार, आषाढ २७, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ मा सञ्चालन भइरहेको समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

 

 

आर्थिक वर्ष २०८१/०८२ देखि सुरु भएको उक्त कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ । ६६ लाख ६६ हजार ६६६ रुपैयाँ लागतको कार्यक्रममा पशु सेवा कार्यालय धादिङले ४० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाले १३ लाख ३३ हजार ३३३ रुपैयाँ तथा कृषकहरूले पनि सोही बराबरको साझेदारी लगानी गरेका छन् ।  पशु सेवा कार्यालय धादिङ र त्रिपुरेश्वर भैंसी प्रवर्द्धन कृषक समूहको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत हालसम्म २१ घरधुरीलाई भैंसी वितरण गरिएको छ । खहरे, लपाङ, अचनेटार र सिउरेनी क्षेत्रका २२ घरधुरीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा चार घरधुरीले दुई–दुई वटा र १७ घरधुरीले एक–एक वटा भैंसी वितरण गरिएको छ । बाँकी लाभग्राहीलाई पनि कार्यक्रमअनुसार भैंसी उपलब्ध गराइने पशु सेवा कार्यालयले जनाएको छ । भैंसी वितरणसँगै कृषकलाई व्यवसायिक पशुपालनमा प्रोत्साहन गर्न आवश्यक कृषि तथा पशुपालन सामग्रीसमेत उपलब्ध गराइएको छ। कार्यक्रमअन्तर्गत एक थान मिल, ११ वटा च्याप कटर तथा अन्य आवश्यक सामग्री वितरण गरिएको छ ।

 

 

गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले कृषि तथा पशुपालनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, आयआर्जन विस्तार र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पशु सेवा कार्यालय धादिङका प्रमुख डा. बबलु ठाकुरले स्थानीय स्तरमा दूध उत्पादन बढाउने, कृषकको आम्दानी अभिवृद्धि गर्ने र व्यवसायिक पशुपालन विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।  उहाँका अनुसार समुदायमा आधारित उत्पादन कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ ।

 

 

वडा नम्बर ७ का वडा अध्यक्ष सुबास अधिकारीले कार्यक्रमले स्थानीय कृषकलाई व्यवसायिक भैंसीपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।  उहाँले आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार सहयोग र समन्वयलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, दूध उत्पादन वृद्धि र कृषकको जीवनस्तर उकास्ने लक्ष्यसहित सञ्चालन भइरहेको यो कार्यक्रमले आगामी वर्षहरूमा थप सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल