धादिङमा युरिया मौज्दात बढ्यो, १०४ वडामा बाँड्दा एक वडालाई ६२ बोरा मल

सोमबार, आषाढ २९, २०८३

theme

धादिङमा रासायनिक मलको चरम अभाव भएको चर्चा चलिरहेका बेला प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको पहल र समन्वयपछि कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीमा थप १०० मेट्रिक टन (१ लाख किलोग्राम) युरिया मल भित्रिएको छ ।

 

 

यसअघि गजुरी शाखामा २ लाख ३४ हजार ७५० किलोग्राम युरिया मौज्दात रहेकोमा नयाँ परिमाण थपिएसँगै कुल युरिया मौज्दात ३ लाख ३४ हजार ७५० किलोग्राम पुगेको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीले असार २८ गतेसम्म सार्वजनिक गरेको विवरणअनुसार गजुरी शाखामा युरियाबाहेक डीएपी मल १ लाख २४ हजार १०० किलोग्राम (१२४.१ मेट्रिक टन), पोटास २ हजार ९०० किलोग्राम (२.९ मेट्रिक टन) तथा कृषि चुन ५२ हजार ९०० किलोग्राम (५२.९ मेट्रिक टन) मौज्दात रहेको छ ।  सबै प्रकारका मल गरी शाखामा हाल ५ लाख १४ हजार ६५० किलोग्राम (५१४.६५ मेट्रिक टन) मल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

 

धान रोपाइँको मुख्य सिजनमा थप युरिया भित्रिएसँगै किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको भए पनि वितरण प्रणालीलाई लिएर किसानहरू सन्तुष्ट छैनन् ।  जिल्लाका १०४ वडामा दामासाहीका आधारमा वितरण गर्ने हो भने प्रत्येक वडाको भागमा करिब ६२ देखि ६५ बोरा मात्र मल पर्ने देखिन्छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ। असार महिनामा धान रोपाइँ तीव्र भइरहेका बेला युरिया मल थपिएसँगै धादिङका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

 

 

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले मलको अभाव देखिनुका पछाडि वितरण व्यवस्थापनमा कमजोरी रहेको बताउनुभएको छ । उहाँका अनुसार मल वितरणको जिम्मेवारी पाएका सहकारी संस्था तथा व्यापारीहरूले बिक्री विवरण अनलाइन प्रणालीमा समयमै प्रविष्ट नगर्नु, कृषि सामग्री कम्पनीबाट आवश्यक परिमाणमा मल उठाउन बेवास्ता गर्नु तथा स्थानीय तहबाट आवश्यक सहजीकरण नहुनु जस्ता कारणले कृत्रिम अभावको अवस्था सिर्जना भएको हो । सांसद श्रेष्ठले धादिङमा किसानको आवश्यकतालाई ध्यानमा राखेर पर्याप्त हुने गरी मल उपलब्ध गराइएको बताउँदै अब वितरणलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

 

 

नागरिकहरूले युरिया मल मात्र खोज्ने र विभिन्न बालीका लागि आवश्यक अन्य मलको प्रयोगमा ध्यान नदिँदा पनि बजारमा युरियाको कृत्रिम अभाव जस्तो देखिएको हो। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अब किसानलाई सहज र पारदर्शी रूपमा मल उपलब्ध गराउने अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल