धादिङको गजुरी गाउँपालिका–६ स्थित बेल्खु दोभान क्षेत्रमा रातिको समयमा भइरहेको भनिएको अवैध बालुवा उत्खननबारे प्रतिनिधिसभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय धादिङ सक्रिय भएको छ ।

प्रतिनिधिसभा सदस्य तामाङले रातभरि दर्जनौं ट्रिपर प्रयोग गरी बगिरहेको नदीबाट प्रत्यक्ष रूपमा बालुवा उत्खनन भइरहेको दाबी गर्दै स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । उनले प्राकृतिक स्रोतको संरक्षण र अवैध उत्खनन नियन्त्रणमा सम्बन्धित निकायको प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरेकी थिइन् । उक्त विषय सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले गजुरी गाउँपालिकासँग समन्वय गरी उत्खननस्थलतर्फ जाने पहुँचमार्ग डोजर प्रयोग गरेर अवरुद्ध गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सो क्षेत्रमा थप प्रहरी परिचालन गरी निगरानीसमेत कडा पारिएको छ । अवैध उत्खनन रोक्न आवश्यक सुरक्षा तथा अनुगमनका कार्यहरू निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

बेल्खु दोभान क्षेत्रमा लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन हुने गरेको भन्दै स्थानीयवासीले समेत प्रभावकारी नियन्त्रणको माग गर्दै आएका छन् । पछिल्लो घटनापछि सम्बन्धित निकायको सक्रियताले अवैध उत्खनन नियन्त्रणमा कत्तिको प्रभाव पार्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल