धादिङको ज्वालामुखी गाउँपालिका–६, साँधभञ्ज्याङ मिलनटोलमा रोपाइँका क्रममा खाजा खाएका एक बालकसहित १५ जना बिरामी परेका छन् । बिरामीहरूमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेलगायतका लक्षण देखिएको जनाइएको छ ।

बिरामी सबैलाई धादिङ अस्पतालको आकस्मिक कक्षमा ल्याई आवश्यक चिकित्सकीय परीक्षणमा उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारपछि उनीहरूलाई वार्डमा भर्ना गरी निःशुल्क उपचार भइरहेको छ । अस्पतालका अनुसार हाल सबै बिरामीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रोपाइँ गराउने खेतधनी मिरा रमतेल पनि बिरामी परेकी छन् । तर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकी उनी घरमै बसेको स्थानीयले बताएका छन् । बिरामी पर्नेहरूमा १ बालक, ६ पुरुष र ८ महिला रहेका छन् । स्थानीय यानबहादुर मगरातीका अनुसार रोपाइँ सम्पन्न भएपछि राति करिब १२ बजेदेखि नै सहभागीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो । स्थानीयका अनुसार सोही मुहान क्षेत्रमा झार मार्ने विषादी (हर्बिसाइड) प्रयोग गरिएको थियो। विषादी मिसिएको मुहानको पानी वा रोपाइँमा दिइएको खाजाका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण भने सम्बन्धित निकायले अनुसन्धानपछि मात्रै पुष्टि गर्नेछ ।

रोपाइँमा सहभागी अधिकांश खेताला एकैपटक बिरामी परेपछि ज्वालामुखी गाउँपालिका–६ को मिलनटोल क्षेत्रमा त्रास र चिन्ता फैलिएको छ । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल