धादिङ जिल्लामा सञ्चालित पूर्वाधार विकासका सबै प्रकारका कार्यक्रम तथा योजनाको भौतिक र वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्याउने प्रतिबद्धता सम्बन्धित सरकारी कार्यालयहरूले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार आयोजित गत आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का योजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा सम्बन्धित कार्यालयहरूले चालु वर्षका योजना प्रभावकारी रूपमा सञ्चालन गर्दै भौतिक तथा वित्तीय प्रगति ८५ प्रतिशतभन्दा बढी हासिल गर्ने गरी कार्ययोजना तयार पार्ने र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी, सिँचाइ लगायत प्रदेश र संघीय सरकारअन्तर्गतका पूर्वाधार आयोजनाहरू समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । बैठकमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नौबिसे–मुग्लिन सडक आयोजनाको प्रगति अपेक्षाअनुसार हुन नसकेको जानकारी गराइयो। आयोजनास्थलमा अझै विद्युत्का पोल नहटाइएकाले निर्माण कार्य प्रभावित भएको र बिटुमिन अभावका कारण पनि सडक निर्माणको गति सुस्त भएको सम्बन्धित निकायले जनाएको छ । त्यसैगरी खानेपानी, जलाधार, सिँचाइ, सहरी विकास तथा पूर्वाधारसँग सम्बन्धित प्रदेश तथा संघीय कार्यालयहरूले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको प्रगति र चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी प्रस्तुत गरेका थिए ।

समीक्षा बैठकमा उपभोक्ता समिति तथा ठेक्का प्रणालीमार्फत सञ्चालन भएका योजनाको प्रभावकारी अनुगमन, फिल्डस्तरमा अनुगमन पुस्तिका अनिवार्य रूपमा प्रयोग गर्ने, अनुगमनकर्ताले अनिवार्य सुझाव तथा प्रतिवेदन उपलब्ध गराउने लगायतका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ र आशिका तामाङ, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल