धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन् । नयाँ जीवनलाई संसारमा ल्याएको खुसी उनको अनुहारमा देखिए पनि अभावले त्यो खुसीलाई छायामा पारेको छ ।

सुत्केरी महिलालाई आराम, पोषिलो खाना, न्यानो ओछ्यान र परिवारको विशेष हेरचाह आवश्यक हुन्छ । तर अञ्जलीको जीवनमा यी सबै कुरा अहिले विलासिताजस्तै बनेका छन् । उनको नवजात शिशु पातलो च्यादरमाथि सानो थाङ्नामा सुतिरहेको छ। बच्चालाई फेर्न पर्याप्त कपडा छैन। आफूले ओढ्ने–ओछ्याउने सामग्रीसमेत अभावमा छ । सुत्केरी शरीरलाई आवश्यक पोषण त परको कुरा, बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले अञ्जलीलाई सताइरहेको छ । उनका श्रीमान् पूर्णबहादुर तामाङ दैनिक ज्यालादारी मजदुरी गरेर परिवार चलाउँछन् । काम पाए घरमा चामल र तरकारी आउँछ, काम नपाए चुलो नै बल्दैन। अहिले घरमा दुई माना चामल र थोरै आलुबाहेक केही छैन ।

दिनभरि अञ्जलीको नजर घरअगाडिको बाटोतिर हुन्छ । श्रीमान् ज्याला गरेर कहिले फर्केलान्, केही खानेकुरा ल्याउलान् र चुलो बल्ला भन्ने प्रतीक्षामै उनको दिन बितिरहेको छ । सुत्केरी अवस्थाको पोषणभन्दा पनि परिवारको पेट कसरी भराउने भन्ने चिन्ताले उनी सानै उमेरमा जीवनको कठोर यथार्थसँग जुध्न बाध्य भएकी छन् । परिवारसँग आफ्नै जग्गा–जमिन छैन। हाल उनीहरू आफन्तले केही समयका लागि बस्न दिएको सानो घरमा आश्रित छन्। पूर्णबहादुरका बुबा र आमा दुवै अपाङ्गता भएका व्यक्ति भएकाले उनीहरूबाट कुनै आर्थिक वा शारीरिक सहयोगको अपेक्षा गर्न सकिने अवस्था छैन। खेतीपाती गर्ने जमिनसमेत नभएकाले परिवारको आयआर्जनको एक मात्र आधार दैनिक ज्यालादारी मजदुरी हो ।

अञ्जलीको कथा एउटा परिवारको मात्र होइन । दुर्गम र विपन्न समुदायमा अझै पनि धेरै सुत्केरी महिलाले आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका छन् । सुरक्षित मातृत्वका कार्यक्रम सञ्चालन भइरहे पनि आर्थिक रूपमा कमजोर परिवारसम्म पोषण, सामाजिक सुरक्षा र प्रभावकारी सहयोग अझै पर्याप्त रूपमा पुग्न सकेको देखिँदैन । अहिले अञ्जली तामाङको परिवारलाई सबैभन्दा बढी आवश्यकता नवजात शिशुका लागि कपडा, सुत्केरी आमाका लागि पोषिलो खाद्यान्न, न्यानो ओछ्यान र केही समयका लागि आर्थिक सहयोगको छ ।

नयाँ जीवनलाई जन्म दिएकी एक आमाको सबैभन्दा ठूलो आशा अहिले श्रीमान् ज्याला गरेर घर फर्कने बाटो र साँझ चुलो बल्ने प्रतीक्षामै सीमित छ। अञ्जलीको यो पीडाले विपन्न परिवारमा सुरक्षित मातृत्व अझै पनि चुनौतीपूर्ण रहेको यथार्थलाई फेरि एकपटक उजागर गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल