धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ । बाढीले घर तथा घरभित्र रहेका सामानमा क्षति पुर्याए पनि घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। अचानक आएको बाढीका कारण घरमा क्षति पुगेपछि प्रभावित परिवारहरू सुरक्षित स्थानतर्फ सरेका छन् । चिरौदी आसपासका क्षेत्रमा खोलानाला तथा नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाढीका कारण घरहरू बग्नुका साथै स्थानीय क्षेत्रमा भौतिक क्षति भएको छ । प्रभावित परिवारको अवस्था र थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

यसैबीच, त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तथा आसपासका खोलामा पानीको सतह अझ बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । स्थानीय प्रशासनले नदी किनार, खोला तथा पहिरोको जोखिममा रहेका बस्तीमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान, रातको समयमा विशेष सतर्क रहन तथा सम्भावित जोखिम देखिएमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्ने, क्षतिको विवरण संकलन गर्ने र आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। धादिङका विभिन्न नदी तथा खोलानालामा पछिल्लो समय पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका बासिन्दाले नदीको अवस्था हेर्न वा बाढी आएको स्थानमा जान नहुने स्थानीय प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैले सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल