ads

बाढीले विस्थापित बारा–पर्साका १६ श्रमिक धादिङबेँसीमा अलपत्र, वडाध्यक्ष श्रेष्ठको पहलमा घर पठाइयो

सोमबार, भाद्र १५, २०८३

theme

 भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटको त्रिशूली क्षेत्रमा मजदुरी गर्दै आएका बारा–पर्साका श्रमिकको बस्ने ठाउँ र रोजगारी मात्रै खोसेन, घर फर्किने बाटोसमेत अनिश्चित बनाइदियो। बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थान हुँदै धादिङबेँसी आइपुगेका १६ जना श्रमिक यातायातको साधन र पर्याप्त पैसा नहुँदा अलपत्र परेका थिए ।

 

 

नुवाकोटको त्रिशूली क्षेत्रमा मजदुरी गर्दै आएका बारा र पर्साका १३ जना तथा भारतका ३ जना गरी १६ जना श्रमिक बाढीपछि विस्थापित भएका हुन् । बाढीले उनीहरू बस्दै आएको ठाउँसँगै खानेकुरा र दैनिक आवश्यकताका सामग्रीसमेत बगाएपछि उनीहरू सुरक्षित स्थान हुँदै घर फर्किने क्रममा धादिङबेँसी आइपुगेका थिए । आइतबार धादिङबेँसी आइपुगेका उनीहरूसँग घरसम्म पुग्ने पर्याप्त रकम थिएन ।  बाढीका कारण यातायातसमेत प्रभावित भएपछि उनीहरू धादिङबेँसीमै अलपत्र परेका थिए ।

 

 

श्रमिकहरू अलपत्र परेको जानकारी पाएपछि नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले तत्काल पहल गरेका थिए। श्रेष्ठको अगुवाइमा उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन माइक्रोबस रिजर्भ गरिएको थियो ।  यात्राका लागि आवश्यक खानेकुराको समेत व्यवस्था गरेर उनीहरूलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको हो । यसैबीच, नीलकण्ठ नगरपालिकाले विपद्मा परेका नागरिकका लागि खाने र बस्ने व्यवस्था समेत मिलाएको छ। बाढी तथा अन्य विपद्का कारण विस्थापित भएर धादिङबेँसी आइपुगेकाहरूलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था नगरपालिकाले गरेको हो ।

 

 

त्रिशूलीबाट सामरी भञ्ज्याङ र धुवाँकोट हुँदै धादिङबेँसी आइपुगेका श्रमिकलाई गोरखा, आँबुखैरेनी र मुग्लिन हुँदै नारायणघाटसम्म पुर्‍याउने व्यवस्था मिलाइएको थियो । बाढीबाट ज्यान जोगाएर आएका उनीहरू यहाँ आएर पनि अलपत्र परेको थाहा पाएपछि सकेको सहयोग गरेर घर पठाउने व्यवस्था मिलाएका हौँ, वडाध्यक्ष श्रेष्ठले भने, “विपद्को समयमा समस्यामा परेका नागरिकलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु हाम्रो मानवीय दायित्व हो । बाढीले बस्ने ठाउँ, रोजगारी र दैनिक जीवनका आधारभूत सामग्री गुमाएका श्रमिकका लागि धादिङबेँसीमा गरिएको सहयोग केवल यातायातको व्यवस्था मात्रै बनेन ।  परिवारबाट टाढा रहेर मजदुरी गरिरहेका उनीहरूका लागि विपद्को बीचमा सुरक्षित रूपमा घर फर्किने भरोसा पनि बन्यो ।

 

 

विपद्का बेला जिल्ला, भूगोल र नागरिकताको सीमाभन्दा माथि उठेर गरिएको यो मानवीय सहयोगको स्थानीयवासीले प्रशंसा गरेका छन् ।  बाढीले सबैथोक गुमाएर घर फर्किन बाध्य भएका श्रमिकलाई गाडी रिजर्भदेखि खानेकुरासम्मको व्यवस्था गरेर पठाइनुले संकटका बेला मानवीय संवेदनाको महत्त्वसमेत देखाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल