भोटेकोसी बाढीले बगाएर ल्याएका पहिचान नखुलेका शव तथा मानव शरीरका अंगहरू धादिङको गजुरी गाउँपालिका–५, गलौदा हाइटस्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ ।

बाढीपछि जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए । शव कुहिन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती शव तथा अंगहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार शव व्यवस्थापनअघि प्रत्येक शव तथा शरीरका अंगको मुचुल्का तयार पारिएको थियो। पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि आवश्यक नमुनासमेत संकलन गरेर सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गजुरीमा व्यवस्थापन गरिएका शव तथा अंगमध्ये सग्लो शरीर भएका दुई शव र शरीरका विभिन्न अंग भएका २१ शव गरी जम्मा २३ शव तथा अंग रहेका छन् । व्यवस्थापनका क्रममा शवहरूलाई छुट्टाछुट्टै नम्बर दिएर खाडलमा राखिएको छ। भविष्यमा डीएनए परीक्षण वा अन्य माध्यमबाट पहिचान खुलेमा सहज रूपमा सम्बन्धित शव पहिचान गर्न सकिने गरी अभिलेखसमेत राखिएको प्रहरीले जनाएको छ । डीएसपी दाहालका अनुसार कुनै शवको पहिचान डीएनए परीक्षणबाट खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराइनेछ । त्यसपछि प्रचलित कानुनी प्रक्रिया पूरा गरी परिवारले आफ्नो संस्कारअनुसार अन्तिम संस्कार गर्न शव लैजान सक्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बाढीबाट धादिङमा संकलन गरिएका २७ शव पोखरा र ६ शव काठमाडौं पठाएर व्यवस्थापन गरिएको थियो । गजुरीमा रहेका पहिचान नखुलेका शव तथा शरीरका अंगसमेत व्यवस्थापन गरिएपछि बाढीबाट संकलन भएका सम्पूर्ण शवको व्यवस्थापन कार्य पूरा भएको प्रहरीले जनाएको छ। प्रहरीले शवको पहिचानका लागि संकलन गरिएका डीएनए नमुना सुरक्षित राखेको छ। भविष्यमा आफन्तको डीएनएसँग मिलान भई पहिचान खुलेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ ।

बाढीले आफन्त गुमाएका परिवारका लागि भने शवको पहिचान र आफन्तसम्म पुर्याउने प्रक्रिया अझै महत्वपूर्ण चुनौती बनेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल