गोसाइँकुण्ड जाने क्रममा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ ।

गोसाइँकुण्ड दर्शनका लागि जाँदै गरेको बस भोटेकोशी नदीमा आएको भीषण बाढीको चपेटामा परेपछि त्यसमा सवार यात्रुहरू बेपत्ता भएका थिए। बाढीपछि लामो समयसम्म आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजी तथा पहिचानका क्रममा धादिङका १० जनाको शव फेला परेको हो । एउटै बसमा सवार रहेका नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल र रामचन्द्र खनाल तथा नीलकण्ठ नगरपालिका–९ की गायत्री लम्सालको शव पहिचान भएको छ । उनीहरूमध्ये गायत्री लम्सालको शव सोमबार पहिचानपछि धादिङबेँसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ। आफन्त तथा परिवारजनको उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको हो ।

त्यसैगरी अन्य पाँच जनाको शव बुधबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पहिचान गरिएको छ । शिक्षण अस्पतालबाट पहिचान भएका उनीहरूको शव काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहेको टिचिङ अस्पतालबाट हाम्रा सहकर्मी मनिष दुवाडीले जानकारी दिनुभएको छ ।

भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका धादिङका थप चार जनाको शवसमेत पहिचान भएको छ । सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र विन्दादेवी सिलवाल तथा घनश्याम भट्ट र कल्पना भट्टको शव पनि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालबाट पहिचान भएको हो । पारिवारिक स्रोतका अनुसार हरिप्रसाद सिलवाल र विन्दादेवी सिलवालको शव आजै च्याडुदोभानमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ। घनश्याम भट्ट र कल्पना भट्टको भने काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको परिवारले जनाएको छ । एकै घटनामा एउटै बसमा सवार धादिङका धेरै नागरिकको ज्यान गएपछि जिल्लामा समेत शोकको वातावरण बनेको छ । गोसाइँकुण्ड दर्शनका लागि घरबाट हिँडेका आफन्तहरू सुरक्षित फर्किने आशामा बसेका परिवारले अन्ततः शव पहिचान भएपछि पीडादायी रूपमा अन्तिम बिदाइ गर्नुपर्ने अवस्था आएको छ ।

बाढीमा ज्यान गुमाउनेहरूको संख्या र बेपत्ताको विवरण थप स्पष्ट हुँदै जाँदा प्रभावित परिवारमा पीडा झन् गहिरिएको छ। आफन्त गुमाएका परिवारजनले घटनाको यथार्थ विवरण सार्वजनिक गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा पीडित परिवारलाई आवश्यक राहत, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
पहिचान भएका धादिङका १० जना
* दयाराम लम्साल — नीलकण्ठ–१२
* सीता लम्साल — नीलकण्ठ–१२
* प्रकाश लम्साल — नीलकण्ठ–१२
* इन्दिरा अर्याल लम्साल — नीलकण्ठ–१२
* रामचन्द्र खनाल — नीलकण्ठ–१२
* गायत्री लम्साल — नीलकण्ठ–९
* हरिप्रसाद सिलवाल — सिद्धलेक
* विन्दादेवी सिलवाल — सिद्धलेक
* घनश्याम भट्ट
* कल्पना भट्ट
घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल