भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि धादिङ जिल्लाबाट १५० जना सम्पर्कविहीन रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङबाट २०८३ भदौ १९ गते दिउँसो २ बजे प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये १४ जनाको शव फेला परी सनाखत भएको छ भने २ जना सम्पर्कमा आएका छन् । प्रशासनले संकलन गरेको विवरणअनुसार नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा धेरै ३८ जना सम्पर्कविहीन रहेका छन्। त्यस्तै गंगाजमुना गाउँपालिकाबाट १५, रुबीभ्यालीबाट १३, गल्छीबाट १३, धुनीबेँसीबाट १२, खनियाबासबाट ८, गजुरी र बेनीघाट रोराङबाट ७/७, सिद्धलेकबाट ६, नेत्रावती डबजोङबाट ५ तथा ज्वालामुखी र त्रिपुरासुन्दरीबाट २/२ जना सम्पर्कविहीन रहेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

प्राप्त विवरणअनुसार सिद्धलेकका १ जना, नीलकण्ठका १२ जना र खनियाबासका १ जनाको शव प्राप्त भई सनाखत भएको छ । त्यस्तै थाक्रे गाउँपालिकाका १ जना र गंगाजमुना गाउँपालिकाका १ जना सम्पर्कमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार धादिङ घर भई रसुवा तथा नुवाकोटमा कार्यरत कर्मचारीहरू र राजीखुसी गोसाइँकुण्ड मेला गएका व्यक्तिहरूको विवरणसमेत यस तथ्यांकमा समावेश गरिएको छ ।

बाढीपछि अझै ठूलो संख्यामा व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ। घटनासँगै सम्पर्कविहीनको संख्या तथा पहिचानसम्बन्धी विवरणमा थप परिवर्तन हुन सक्ने प्रशासनले जनाएको छ ।

नोट: माथिको विवरण जिल्ला प्रशासन कार्यालय धादिङबाट भदौ १९ गते दिउँसो २ बजे प्राप्त तथ्यांकमा आधारित छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल