रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो विवरणअनुसार बाढी तथा विपद्का कारण हालसम्म १ हजार २९४ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको भाद्र १९ गते साँझ ६ः३० बजेसम्मको विवरणअनुसार करिब ५ हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

प्राधिकरणका अनुसार रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३५, नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ जनाको शव फेला परेको छ । बाढी तथा विपद्का घटनामा परी ५ हजार ६६३ जना घाइतेको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१४ जना, नेपाली सेनामार्फत ३ हजार २९६ जना र सशस्त्र प्रहरीमार्फत २ हजार ५३३ जनाले स्वास्थ्य उपचार पाएका छन् । यस्तै, हालसम्म १६ वटा सनाखत हुन बाँकी शव रहेको विवरणमा उल्लेख छ ।
१३ हजारभन्दा बढीको उद्धार
हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा १३ हजार ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७० जनाको उद्धार गरेका छन् । नेपाली सेनाले हालसम्म ५५१ पटक हवाई उडान गरेको छ भने काठमाडौंमा निजी क्षेत्रमार्फत १२९ वटा उडान भएका छन् । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०३ रहेको छ ।

भौतिक संरचनामा ठूलो क्षति
प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। सरकारी संरचना ४८ वटा, विद्यालय १८ वटा र स्वास्थ्य संस्था ७ वटामा क्षति पुगेको छ। सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस्तै, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ, जसमा ३३ वटा पूर्ण रूपमा क्षतिग्रस्त छन्। साथै ६८ वटा झोलुंगे पुलमा समेत क्षति पुगेको छ ।
३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना
रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना रहेका छन्। उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १४ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा काठमाडौं हुँदै ७० ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ ।

सरकारबाट साढे १३ करोड नगद राहत
नेपाल सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । क्षति भएका घरधुरीका आधारमा प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९६३ जना रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
नोट : भदौ १९ गते त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट समेत २ जनाको जीवित उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल