रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी १ हजार ३५८ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २३ गते साँझ ६ बजेसम्मको विवरणमा करिब ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा शव फेला परेको विवरणअनुसार रसुवामा १७०, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। हालसम्म १०२ शव सनाखत भइसकेका छन् । सम्पर्कविहीनमध्ये रसुवाबाट २ हजार ५६० जना, रसुवा जिल्लाका नागरिक १ हजार ३३३, अन्य जिल्लाका नागरिक १ हजार २५६ तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत रहेका छन् । नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार थप करिब १ हजार ९६१ नेपाली नागरिक तथा करिब ४८७ विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ। घाइतेमध्ये ३ हजार ३७ जनाको उपचार गरिएको छ। विभिन्न १० अस्पतालमा उपचार गरिएका ३२९ जनामध्ये २५२ जना डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरीमार्फत समेत हजारौँ घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएको छ। तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् । उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २९ हजार १४६ सुरक्षाकर्मी परिचालन गरिएको छ । हेलिकप्टरमार्फत समेत निरन्तर उद्धार भइरहेको छ ।

नेपाल सरकारले रसुवा र नुवाकोटमा १–१ करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि समेत १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, प्रभावित क्षेत्रमा डिजेल ४५ हजार लिटर, पेट्रोल १६ हजार लिटर र हवाई इन्धन १६ हजार लिटर मौज्दात रहेको जनाइएको छ । ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको तथा स्वास्थ्य मन्त्रालयमार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा पनि सञ्चालन गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल