भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ २२ गते बिहान ११ बजेसम्म बाढी तथा विपद्का घटनामा १ हजार ३ सय ६७ जनाको मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि विभिन्न स्थानमा करिब ५ हजार ३ सय ३२ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये रसुवा जिल्लाका नागरिक १ हजार ३ सय २३, अन्य जिल्लाका १ हजार २ सय ६६, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना रहेका छन्। त्यस्तै, नुवाकोटबाट मात्रै १ हजार ५७८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । विपद्मा परेका १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा उपचारका क्रममा विभिन्न १० वटा अस्पतालमा ३२२ जनाले उपचार गराएका छन्। सुरक्षा निकायका अस्पतालबाट समेत ठूलो संख्यामा प्रभावितको उपचार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावितका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ रसुवामा ६३२, नुवाकोटमा २ हजार ६६१ र धादिङमा १९६ जनासहित कुल ३ हजार ६२८ जना रहेका छन् । खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ । आवश्यक क्षेत्रमा हेलिकप्टरमार्फत समेत खोज तथा उद्धार तथा राहत सामग्री ढुवानी भइरहेको छ । सरकारले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकालाई समेत १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन डिजेल, पेट्रोल र हवाई इन्धनको मौज्दात व्यवस्थापन गरिएको छ भने आवश्यकताअनुसार ग्यास सिलिन्डरसमेत पठाइएको प्राधिकरणले जनाएको छ । स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० जनाभन्दा बढी जनशक्तिबाट मनोसामाजिक परामर्श समेत सञ्चालन गरिएको छ ।

प्राधिकरणले सम्भावित बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय हुन आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल