भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सुनजस्तो देखिने गरगहनासहित धादिङको गजुरी गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नुवाकोटको विदुर नगरपालिका–२ स्थित त्रिशूली बजारमा बस्ने लिला बहादुर बोहोराको घर बगाउने क्रममा बाढीले ल्याएको सुनजस्तो देखिने गरगहना फेला परेको थियो । उक्त गरगहना गजुरी गाउँपालिका–६ बन्छेटारका वर्ष ३५ का रामबहादुर तामाङले फेला पारी घरमा लगेर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले धादिङबाट खटिएका प्रहरी टोलीसँग समन्वय गरी रामबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट बरामद गरिएका गरगहनाहरू चोरीसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा सुनजस्तो पहेँलो धातुको बाला ३ वटा, झुम्का २ थान, सिक्री २ थान, औँठी २ थान, रातो पोतेमा जडित सुनजस्तो पहेँलो धातुको मंगलसूत्र २ थान तथा चाँदीजस्तो देखिने सेतो धातुको पाउजु २ जोर रहेका छन् ।

बरामद गरिएका सामग्रीको वास्तविक धातु तथा मूल्य यकिन गर्न थप परीक्षण आवश्यक हुने प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल