भोटेकोशी बाढीका कारण शूली नदीमाथि बनेका मुख्य पक्की तथा झोलुङ्गे पुलहरू बगाएपछि पृथ्वी राजमार्गसँग जिल्ला सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रको सीधा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको करिब एक महिना पुग्नै लाग्यो ।

सदरमुकाम धादिङबेँसीबाट छोटो दूरीमा पृथ्वी राजमार्ग पुग्ने मुख्य मार्गको पुल बाढीले पूर्ण रूपमा बगाएपछि हजारौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । नदी तटीय क्षेत्रका विभिन्न झोलुङ्गे पुलसमेत बाढीले बगाएपछि आवतजावतमा थप समस्या भएको छ । पुल बगेपछि अस्थायी रूपमा बेलिब्रिज निर्माण गरी यातायात सहज बनाउनुपर्ने माग उठे पनि हालसम्म त्यसतर्फ ठोस प्रक्रिया अघि नबढेको भन्दै नागरिक आक्रोशित बनेका छन् । पुल निर्माणमा भइरहेको ढिलाइप्रति सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियानसमेत सञ्चालन भइरहेको छ । नागरिकको दैनिकी सहज बनाउन तत्काल पृथ्वी राजमार्गबाट धादिङबेँसी जोड्ने गरी त्रिशूली नदीमाथि बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने अभियानमा जोड दिइएको छ ।

धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले पुल निर्माणमा भइरहेको ढिलाइले धादिङको मध्य तथा उत्तरी क्षेत्रका हजारौँ नागरिक र व्यवसायीले दैनिक रूपमा यातायात तथा आपूर्तिको समस्या भोगिरहेको बताउनुभयो । उहाँले “पुल कहिले बन्छ ?” भन्ने प्रश्नसँगै “किन ढिला भयो ?” र “अब कहिलेसम्म बन्छ ?” भन्ने प्रश्नको समेत सरकारले तथ्यसहित स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । “सरकार र सम्बन्धित निकायले अनुमान होइन, तथ्यसहितको स्पष्ट जवाफ दिनुपर्छ,” भण्डारीले भन्नुभयो, “समृद्ध धादिङका लागि विकास निर्माणमा विवाद होइन, समाधान र सहकार्य आवश्यक छ । निजी क्षेत्र सहकार्य गर्न सधैँ तयार छ।”

धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी
धादिङबेँसीबाट काठमाडौं जाने वैकल्पिक भनिएका दुवै सडकको अवस्था कठिन रहेको र पश्चिमतर्फको वैकल्पिक मार्ग झनै अप्ठेरो रहेको धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक प्रसाद ढुङ्गानाले बताउनुभयो । चाडपर्वको समय नजिकिँदै गर्दा यही अवस्थाको सडकबाट यातायात सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ । विशेषगरी खाद्यान्न, दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ तथा औषधिजस्ता अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुँदा यसको प्रत्यक्ष असर नागरिकको दैनिकीमा परेको उहाँले बताउनुभयो । वैकल्पिक सडकलाई स्थानीय सरकारले सम्बन्धित अन्य निकायसँग समन्वय गरी विस्तार तथा स्तरोन्नति गर्नुपर्ने ढुङ्गानाको जोड छ ।

धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक प्रसाद ढुङ्गाना
पुल निर्माणमा भइरहेको ढिलाइका कारण सदरमुकाम र पृथ्वी राजमार्गबीचको सहज आवागमन मात्र प्रभावित भएको छैन, धादिङको मध्य तथा उत्तरी क्षेत्रमा आर्थिक गतिविधि, व्यापार–व्यवसाय र दैनिक आपूर्ति व्यवस्थामासमेत असर परेको व्यवसायीहरूको भनाइ छ ।

अब तत्काल बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउने तथा वैकल्पिक सडकलाई स्तरीय बनाएर चाडपर्वको समयमा यातायात र आपूर्ति सहज बनाउनुपर्ने माग स्थानीयवासी तथा निजी क्षेत्रबाट उठेको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल