अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको आयोजना तथा नेपाल गजल प्रतिष्ठान अमेरिका शाखाको सहकार्यमा १६१औँ मोती जयन्ती तथा प्रथम राष्ट्रिय गजल दिवस केन्टकीमा भव्य रूपमा मनाइएको छ ।

काव्य उत्सवको प्रमुख अतिथि केन्टकी हाउस अफ रिप्रजेन्टेटिभ्स डिस्ट्रिक्ट ३० बाट हालै मनोनित राज्यप्रतिनिधि मित्र सुवेदीले आदिकवि मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गर्दै औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्टकी च्याप्टरका अध्यक्ष सेल्वा लामा र अनेसास केन्टकीका अध्यक्ष सनातन रेग्मीको आतिथ्यता रहेको थियो । त्यस्तै डा. थोमस वास्तोला, कवि नारायणप्रसाद गौतम तथा वयोवृद्ध साहित्यिक व्यक्तित्व हरिकृष्ण भेटवालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व बद्री दाहालले गर्नुभएको थियो ।

गजलकार जीवन निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा रेखा जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो। सोही अवसरमा अनेसास केन्टकी च्याप्टरद्वारा प्रकाशित ‘साहित्यमाला’ पुस्तकको अतिथिहरूले सामूहिक रूपमा लोकार्पण गरेका थिए । संस्थाको स्रष्टा सम्मान शृङ्खलाअन्तर्गत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार गोविन्द फुयाललाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रममा गोविन्द फुयाल, डा. थोमस वास्तोला, डमरू पौडेल, अतुल पोखरेल, नारायणप्रसाद गौतम, बद्री दाहाल, अर्जुन थापा, भीष्म बस्नेत, आदित्य विष्ट, राधा थापा, जमुना खरेल पौडेल, कमला रेग्मी, खेम रेग्मी, केशव जोशी र शिव घिमिरेलगायत दर्जनौँ सर्जकका सिर्जना प्रस्तुत गरिएको थियो । साहित्यिक प्रस्तुतिसँगै बालकलाकारहरूले समेत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। अनुपम थापाले भजन प्रस्तुत गर्नुभएको थियो भने रनोक कोइराला र आयन दाहालले मोतीराम भट्टको परिचय प्रस्तुत गरेका थिए। अनिमा गुरागाईँ, अर्पण ढकाल र आकृति ढकालले पृथ्वीनारायण शाहको जीवनी प्रस्तुत गरेका थिए ।

त्यस्तै श्रृष्टि अधिकारी र इशारा पोखरेलको समूहले प्रस्तुत गरेको सामूहिक नृत्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । कार्यक्रममा साहित्यप्रेमी, गजलकार, कवि, लेखक तथा नेपाली भाषा–साहित्यमा रुचि राख्ने केन्टकीस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

मोतीराम भट्टको साहित्यिक योगदानको स्मरण गर्दै नेपाली गजल तथा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको समिश्रण देखिएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल