चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असोज ११ गतेसम्मको अवधिमा देशभर विभिन्न प्रकारका ६ हजार ५ सय ९८ विपद्का घटना भएका छन् । ती घटनामा ३२२ जनाको मृत्यु, ९ जना बेपत्ता र २ हजार १ सय ७९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिनअनुसार यस अवधिमा विपद्का कारण ७ हजार ९ सय २७ परिवार प्रभावित भएको विवरणमा उल्लेख छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विपद्का घटना सर्पदंशका भएका छन् । सर्पदंशका घटनामा मात्रै ९९ जनाको मृत्यु र १ हजार ३ सय ७३ जना घाइते भएका छन् । त्यसपछि पहिरोमा ५० जनाको मृत्यु, चट्याङबाट ३४ जना र बाढीबाट ३१ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ । त्यसैगरी सर्पदंश, पहिरो, चट्याङ, बाढी, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हावाहुरी, भारी वर्षा, हिमपहिरो, डुंगा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका घटना रहेका छन् । सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको देखिन्छ ।

पहिरोका घटनामा २ जना बेपत्ता हुनुका साथै ६३ जना घाइते भएका छन् भने बाढीमा ७ जना बेपत्ता र २१ जना घाइते भएका छन् । आगलागी, हावाहुरी, भारी वर्षा, वन डढेलो, भूकम्पलगायतका घटनाले पनि ठूलो संख्यामा परिवार प्रभावित भएका छन् । तथ्यांकले वर्षायामसँगै बाढी, पहिरो र भारी वर्षाका घटना बढ्दा जनधनमा उल्लेख्य क्षति पुगेको देखाएको छ । विपद्का कारण मृत्यु, बेपत्ता र घाइतेको संख्या मात्रै होइन, हजारौँ परिवार प्रभावित भएकाले उद्धारसँगै राहत, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

यस तथ्यांकले आगलागी, पहिरो र सर्पदंश चालु आर्थिक वर्षमा बारम्बार दोहोरिएका विपद्का प्रमुख घटनामध्ये रहेको देखाएको छ । सर्पदंशका घटना संख्याका हिसाबले पनि उच्च छन् भने मृत्युको संख्या पनि अन्य धेरै विपद्को तुलनामा बढी रहेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल