नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ मा विभिन्न तहबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई शपथ ग्रहण तथा प्रमाणपत्र शनिबार वितरण गरिएको छ ।

शनिबार धादिङबेशी पार्टी कार्यालय विपी स्मृति भवनमा आयोजित एक कार्यक्रमका बीच वडा, गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन सम्पन्न गरी असोज १३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया पूरा गरिएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सदरमुकाम धादिङबेँसीसहित जिल्लाको मध्य तथा उत्तरी भेगका सात गाउँपालिका समेटिएको यस क्षेत्रमा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले पार्टीको १५औँ महाधिवेशनमा क्षेत्र नं. २ को प्रतिनिधित्व गर्नेछन् । सोही क्रममा धादिङ क्षेत्र नं. २ प्रदेशसभा (क) र (ख) तथा प्रतिनिधिसभाअन्तर्गत निर्वाचित सम्पूर्ण प्रतिनिधि, क्षेत्रीय तहका पदाधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई निर्वाचन अधिकृत विश्वास आचार्यको संयोजकत्वमा शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा वडा तहदेखि क्षेत्रीय तहसम्म सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई एकै ठाउँमा भेला गरी प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराइएको क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति राकेश धमलाले ओखर न्यूजलाई जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका अधिवेशन सम्पन्न भइसकेका छन् । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रमका यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि असोज ८ देखि १२ सम्म देशभर परेको भारी वर्षाका कारण वडा तथा क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति असोज १८ भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।






गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल