अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि अमेरिकामा रहेका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएसँगै नयाँ नेतृत्वका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा तथा तयारी अघि बढाउन थालेका छन् । यही क्रममा हाल समाजका उपाध्यक्ष रहेका खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका खतिवडा विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। समाजको तेस्रो महाधिवेशनबाट अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन भएका उनी लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय रहँदै आएका छन् । खतिवडाले नेपालमा करिब पाँच वर्ष सामाजिक सेवाको क्षेत्रमा काम गरेको अनुभव रहेको बताएका छन्। Action Nepal मार्फत विभिन्न समुदायसँग प्रत्यक्ष रूपमा काम गरेको तथा आर्थिक रूपमा कमजोर र आवश्यकतामा रहेका व्यक्तिहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको उनको भनाइ छ ।

व्यवस्थापनमा स्नातकोत्तर तह (MBA) सम्मको अध्ययन गरेका खतिवडाले अमेरिकामा व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई समेत समाजको नेतृत्वमा उपयोग गर्ने योजना अघि सारेका छन् । अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको तयारीसँगै खतिवडाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, रोजगारी तथा उद्यमशीलतालाई प्राथमिकतामा राख्ने बताएका छन् । उनका अनुसार विदेशमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव, आर्थिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई जिल्लाको विकाससँग जोड्ने वातावरण निर्माण गर्नु मुख्य उद्देश्य हुनेछ । खतिवडाले विद्यार्थीका लागि छात्रवृत्ति तथा मेन्टोरसिप कार्यक्रम सञ्चालन, स्वास्थ्य क्षेत्रमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीको नेटवर्क निर्माण, धादिङका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, युवाका लागि सीप तथा उद्यमशीलता कार्यक्रम र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने पहललाई प्राथमिकतामा राख्ने योजना सुनाएका छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर रहेका धादिङवासीबीच सहकार्य, समन्वय र एकताको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने उनको योजना छ। संस्थागत पारदर्शिता र जवाफदेहितालाई समेत प्राथमिकतामा राख्ने उनले बताएका छन् । “पदका लागि होइन, सेवाका लागि नेतृत्व” भन्ने भावनासहित अध्यक्ष पदमा अघि बढ्न लागेको बताउँदै खतिवडाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत उपलब्धिभन्दा धादिङ र धादिङवासीको साझा हितका लागि जिम्मेवारीका रूपमा लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लाको विकाससँग सम्बन्धित गतिविधिमा काम गर्दै आएको छ। चौथो अधिवेशनबाट समाजले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल