ads

बुढीगण्डकीको बाढीले धादिङ र गोरखामा तहसनहस, धादिङ जोड्ने पुलसमेत बगाय

सोमबार, आश्विन २६, २०८३

theme

गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएर आइतबार बिहान लेदोसहितको भीषण बाढी आएको छ । बाढीले धादिङ र गोरखा विभिन्न क्षेत्र ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

 

 

बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी ६ वटा पुल बगाएका छन् भने ५ जना सम्पर्कविहीन भएका छन् । चुमनुब्री गापा -६ चुम्चेतको उडिलुड निवासी भेडीगोठमा रहेको २ महिला ३ पुरुष गरी ५ जना सम्पकॅ विहिन छन । बाढीले बस्ती, सडक, विद्युत् संरचना तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ ।

 

 

बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलमा समेत क्षति पुर्‍याएको छ ।  तीन भागमा रहेको उक्त पुलको गोरखातर्फको एक भाग बगाएको जनाइएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ ।  यसैगरी, माछीखोला–केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएको विवरण प्राप्त भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले गोरखाका विभिन्न स्थानमा घर, पुल, विद्युत्का पोल, टेलिफोन टावर तथा निर्माणस्थलमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।

 

 

बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटस्थित स्याउलीबजारको सुकुम्बासी बस्ती पूरै बगाएको छ । बाढीबाट प्रभावित ५८ परिवारका घरटहरा पूर्ण रूपमा नष्ट भएको र यसैगरी चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ वटा घर बगाएको छ । जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत बाढीले क्षति पुर्‍याएको छ ।

 

 

बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेको छ । यारु हाइड्रो पावर प्रालिद्वारा प्रवर्द्धित ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ ।  आयोजनाका निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको छ । यसैगरी, वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ। बाढीले आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्‍याएको छ ।

 

 

बाढीले एकैपटक बस्ती, पुल, सडक र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।  बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन, सम्पर्कविहीनको खोजी तथा प्रभावित नागरिकको उद्धार र राहत व्यवस्थापन अहिले प्रमुख चुनौती बनेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल